SOLUTION TO MADHESH ISSUE

हामीले देखेको मधेशमा समाधानको बाटो (विवेकशील नेपाली दलको धारणा)

 

समस्या – आत्मसम्मान र अवसरको आवश्यकता

समाधान – संवाद , सहभागिता र संमृद्धि

पृष्ठभूमि:  मधेशमा आन्दोलनको स्वरुपमा अाक्रोस व्यक्त भएको यो तेश्रो पटक हो तर समस्या समाधान भै हाल्ने छ भनेर विश्वास छैन किनकि सरकारसंग कैयन सम्झौता गरेता पनि आज सम्म सम्झौता मात्रैले पूर्ण समाधान निस्केको छैन।

त्यसैले हाम्रो बुझाई के हो भने मधेसका माग  मूर्त र अमूर्त दुबै छन्, त्यसका समाधानका पाटा पनि मूर्त र अमूर्त दुबै हुन्छ | कतिपय माग राज्य र समाजको असल व्यवहारले मात्र समाधान हुनेछ भने कतिपय माग सम्झौता र त्यसको पालनाले हुनेछ।

आत्मसम्मानको खोजीमा रहेको समुदायमा जीवित रहने शंका-आशंकाको बेवास्ता गर्दै राज्यले संविधान निर्माणका समय गरेको संवादहीनता र त्यस पछि अंगीकार गरेको व्यवहारले नै आज मधेश कठिन अवस्थामा छ | अझै त्यो दुख देश भरि नै फैलिएको छ।

यही आन्दोलनले देशको एक भाग अर्को भागसँग कसरी अन्तरनिर्भर छ, र आम समुदाय पनि कसरी अन्तरनिर्भर छन् भन्ने छर्लंग पारेको छ। तसर्थ मधेश आन्दोलन, मधेश मात्रको आन्दोलन होइन र यो सीमित मधेशी नेताको आन्दोलन पनि होइन। यो शान्ति, सम्मान र संमृद्धि अपेक्षा गर्ने हरेक नेपालीको राज्य प्रतिको अपेक्षाको आन्दोलन हो। यहाँ नेर सावधानी अपनाउन पर्ने एकै कारण छ कि यस आन्दोलनलाई भर्यांग बनाएर आम जनताको भावना विपरित केही सीमित नेता र हाम्रा छिमेकी राष्ट्रले आफ्नो स्वार्थ पूरा नगरुन्।

तसर्थ, समग्रमा आन्दोलनरत पक्ष र आन्दोलनको मर्मलाई अनुभव र आत्मसात् गर्दै यस दु:खद् अवस्थाबाट पार पाउन हामीले निम्न समाधान उपयोगी हुने विश्वास लिएका छौ |

आत्म सम्मान दुई कुराबाट प्राप्त हुन्छ, पहिलो व्यवहारबाट, दोस्रो विधिबाट अर्थात् संविधान र कानुनबाट। तसर्थ, यी दुवै उपाय अवलम्बन गर्नु जरुरी छ | यस निमित हामीले अल्पकालीन, मध्यमकालीन र दीर्घकालीन उपाय सुझाएका छौं।

तुरुन्तै (अल्पकालीन नीति)

१) सांसद र नेताहरु गएर स्थानीय तहमै नागरिक सुनुवाई गर्ने अनि संविधान पनि बुझाउने।

२) संविधान संशोधन गर्न यदि आवश्यक भए आन्दोलनरत दलले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने र प्रक्रिया अगाडि बढाउने।

३) विभेदलाई जघन्य अपराध मानी सो अनुरुपको कानुन कार्यन्वयन गर्ने र सो सम्बन्धी मुद्दाको छिटो सुनुवाई गर्ने।

४) राज्यले युगौंदेखि गरेका विभेदका बारेमा संसदमा राष्ट्रपतिद्वारा राज्यको सर्वोच्च प्रतिनिधिको रुप क्षमायाचना गर्ने।

५) संचार माध्यमले निष्पक्ष सूचना प्रवाह गरी राष्ट्रिय एकता र हितलाई टेवा दिने।

६) अन्तरिम व्यवस्था गरी सरकारले तुरुन्तै स्थानीय कार्यपालिका र स्थानीय व्यवस्थापिकाको निर्वाचन घोषणा गर्ने।

मध्यमकालीन र दीर्घकालीन नीति

७) मधेशले आगामी निर्वाचनमार्फत समानता र संमृद्धि स्थापित गर्न सक्ने विवेकशील नेतृत्वको खोजी गर्ने।

८) मधेश भित्र नै व्याप्त जातीय र वर्गीय भेदभाव, विभेद, कुसंस्कार आदि अन्त्य गर्न सामाजिक सचेतनाका कार्यक्रमहरु संचालन गर्ने।

९) राज्यले पछाडि परेका सम्पूर्ण समुदायलाई विकासको मूल प्रवाहमा ल्याउन स्रोत साधन उपलब्ध गराउने।

१०) जातीयतामा आधारित समावेशितामा आधुनिकीकरण गरी जातियता भित्र पनि आर्थिक पिछडा वर्गसम्म अवसर माथिको पहुँच सुनिश्चित गर्ने।

११ ) आर्थिक विकास विनाको राजनीतिक अधिकारले खासै परिवर्तन ल्याउँदैन, तसर्थ आर्थिक विकासद्वारा व्यक्तिगत र राष्ट्रिय आत्म-निर्भरता हासिल गर्ने जसले आत्म-सम्मानको जगेर्ना र विकास गर्छ।

१२) समान अवसर सुनिश्चित गर्दै विभिन्न भाषा, समुदाय र क्षेत्रका विद्यार्थीलाई विद्यालय स्तरदेखि नै देशका विभिन्न संस्कृतिहरुबारे सु-सुचित गरी विविधतालाई साझा सम्पदाको रुपमा स्थापित गर्ने ताकि हरेक क्षेत्रका जनताबीच असल सम्बन्ध होस्, राष्ट्र एकताबद्ध बनोस्।

धन्यवाद

विवेकशील नेपाली दल

www.leadnepal.com

Recent Posts
Comments
  • Hem Pun
    Reply

    Any purposed legislation must be addressed in Unity as a whole Nepalese rather than allowing the division with respect to races or places.

Leave a Reply